काठमाडौं, २० साउन । विदेशी पर्यटकहरू नेपालले जारी गरेको स्वास्थ्य मापदण्डसहित भदौ १ देखि नेपाल भ्रमणमा आउन पाउने भएका छन् ।
सरकारको पाँच महिनापछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान खुला गर्ने निर्णयसँगै पर्यटन मन्त्रालय मापदण्ड बनाउन जुटेको हो । गृह मन्त्रालयले भिसाको विषयमा अझै राय नदिएकाले रोकिएको र मंगलबारसम्म यो विषय पनि टुंगिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।
पर्यटकलाई यसअघि बनाइएको १४ दिनको क्वारेन्टाइनको व्यवस्था घटाएर पाँच दिन बनाइएको छ । विदेशबाट आउँदा पिसिआरको रिपोर्ट ल्याउने र यता पनि परीक्षण गर्ने भएकाले पाँच दिन मात्रै क्वारेन्टाइनमा राख्न स्वास्थ्य मन्त्रालयले सहमति दिएको सहसचिव आचार्यले जानकारी दिए ।
यता गृह मन्त्रालयले अनअराइभल भिसाका सम्बन्धमा निर्णयका लागि सिसिएमसी पठाएको छ । अनअराइभल भिसा नदिने सरकारले यसअघि नै निर्णय गरेको छ नयाँ पत्रिकामा खबर छ। तर, अनअराइभल भिसा नदिए पर्यटक नआउने भएकाले हटाउनुपर्ने पर्यटनको राय छ ।
मापदण्डमा विदेशी पर्यटकले नेपाल आएपछि पिसिआर परीक्षणमा लाग्ने शुल्क आफैँ व्यहोर्नुपर्नेछ । यता होटेल, रेस्टुरेन्ट तथा अन्य क्षेत्रलाई समेत प्रोटोकल तय गरिसकेर १५ साउनदेखि तयारी थालिसकेका छन् ।











