रोल्पा, २० साउन। रोल्पाको माडिखोलामा पक्की पुल नभएको अवस्थामा जडान गरिएको बेलिब्रिज पक्की पुल बनेपछि करीव एक वर्षदेखि प्रयोगविहीन बनेको छ । पक्की पुल नबनेका अन्य खोलाहरूमा जडान गर्न सकिने भए पनि समयमै प्रयोग हुन नसक्दा बेलिब्रिज काम नलाग्ने अवस्थामा पुगेको छ ।

brigeमध्यपश्चिम सडक डिभिजन कार्यालय प्यूठानले  १ करोड भन्दा धेरै लागतमा ५ वर्षअघि निर्माण गरेको बेलिब्रिज माडीखोलामा पक्की पुल बनेपछि १ वर्षदेखि प्रयोगविहीन बनेको हो ।

उक्त बेलिब्रिजलाई अन्य ठाउँमा जडान गर्नेबारे कहिलेकाँही कुरा उठ्ने गरेको भए पनि हालसम्म स्थानीय सरकारले कुनै समन्वय नगरेको सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनीयर हेमन्त आरसीले बताए ।

रोल्पाकै विभिन्न खोलाहरूमा पक्की पुल नबन्दा वर्षायाममा स्थानीयलाई सास्ती भइरहँदा माडी खोलामा जडान गरिएको बेलीब्रिज भने प्रयोगविहीन छ ।