दाङ, १४ साउन । दाङमा गत आर्थिक वर्ष २०७६र७७ मा पर्यटन विकासका लागि आएको कुल ११ करोड बजेटमध्ये ४ करोड मात्र खर्च भएको छ । जिल्लाको समग्र पर्यटन विकास तथा प्रवद्र्धनका लागि आएको कुल बजेटमध्ये करीब ७ करोड बजेट फ्रिज भएको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ ।
विनियोजित बजेटअन्तर्गत घोराहीको घोरदौरामा सांस्कृतिक डबली निर्माणका लागि आएको १ करोड ५० लाखमध्ये ४४ लाख ४४ हजार ७२६ रुपैयाँ मात्र खर्च भएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले बताए ।
त्यस्तै तुलसीपुरको बोटानिकल गार्डेन निर्माणका लागि आएको १ करोड ५० लाखमा १ करोड १२ लाख ४१ हजार ६३५ रूपैयाँ खर्च भएको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को छिल्लीकोटको पर्यटकीय क्षेत्र संरक्षणका लागि आएको ५० लाखमध्ये ४४ लाख रूपैयाँ खर्च भयो भने बंगलाचुली गाउँपालिकामा बंगलाचुली पार्क निर्माणका लागि आएको ५० लाखमध्ये ४७ लाख खर्च भएको केसीले जानकारी दिए ।
जिल्लाको पर्यटन विकास एवं प्रवद्र्धन गर्न धार्मिकस्थल, सामुदायिक वन, पोखरी निर्माणलगायत क्षेत्रमा बजेट विनियोजन गरिएको थियो ।











