तुलसीपुर, २७ असार । तुलसीपुर नगरपालिकामा सञ्चालित शहरी बाल केन्द्रित शिक्षा कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ । तुलसीपुर नगरपालिको सहयोगमा साझेदार संस्था दलित गैरसरकारी संस्था समन्वय समितिको आयोजनामा भएको समीक्षा कार्यक्रममा अहिलेसम्म ५ महिनाको अवधीमा विद्यालयको पहुंचबाट बाहिर रहेका ४६ जना बालबालिकालाई विद्यालयमा भर्ना गरिएको जानकारी दिइएको थियो ।
नगरपालिकाका विभिन्न वडामा १२ वटा कक्षा सञ्चालनमा रहेको र ती कक्षाहरुमा विद्यालय उमेर भएका तर विभिन्न कारणबाट विद्यालय जानबाट बञ्चित रहेका २ सय १९ बालबालिकाले अध्ययन गरिरहेको जानकारी गराइएको थियो ।
दलित गैरसरकारी संस्था समन्वय समितिका चूर्णबहादुर सुनारको अध्यक्षता एवं तुलसीपुर नगरपालिका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको समीक्षा कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक राजेन्द्र विश्वकर्माले कार्यक्रम अन्तर्गत हालसम्म भएका गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो ।
त्यससैगरी मावि सेन्टर तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेल, बालअधिकारकर्मी नवराज लामिछाने, तुलसीपुर नगरस्तरीय शिक्षा सञ्जालका संयोजक माधव लामिछानेलगायतले सुझाव दिनुभएको थियो ।
