इन्द्रेणी संवाददाता

काठमाडौँ, ११ साउन। नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व सहमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

govindaपार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै उनीहरुलाई जाशी कैलालीका काँग्रेस नेता एवम् पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरेको हो ।

यसैगरी, अनुशासन समितिले डडेल्धुरा जिल्ला कार्य समितिका सचिव रामबहादुर विष्टलाई महिला सदस्यलाई कुटपिट गरेको उजुरी परेपछि तीन वर्षका लागि निष्कासन गरेको छ ।

गोविन्दराज जोशीले गएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिँदा पौडेलले पराजय भोग्नुपरेको र तनहुँ काँग्रेस जिल्ला कार्यसमितिको समानान्तर अर्को कार्यसमिति गठन गर्ने मुख्य भूमिका खेलेको आरोप लगाइएको छ । ओझामाथि भने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार आरजु राणा देउवालाई हराउन सक्रिय भूमिका खेलेको भन्दै कारबाही गरिएको हो ।