काठमाडौँ, ६ साउन । साउन ८ गते विहीबारदेखि छोटा, मझौला तथा लामो रुटका सबै सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो घोषणा गरेका हुन् ।
यातायात मजदुरहरूको समूहलाई नेपाल सरकारले ५० प्रतिशत तथा सम्बन्धित व्यवसायीले ५० प्रतिशत बोहोर्ने गरी कोरोना बीमा गरिदिने, यातायात श्रमिकहरूको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने गरी सरकारको तर्फबाट कोषको व्यवस्थापन गर्ने, सार्वजनिक यातायातमा श्रमिकहरूका लागि आवश्यक रहेको मास्क,पञ्जा, सेनिटाइजर,पिपिई सम्बन्धित व्यवसायीले व्यवस्था गर्ने, नेपाल सरकारको मापदण्ड अनुसार सवारी साधन सञ्चालनको लागि स्वास्थ्य सुरक्षा आवश्यक सुरक्षा सामग्री महासङ्घमा आबद्ध कम्पनी, प्राली, व्यवसायीले व्योहोर्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् ।











