चितवन, २९ असार । चितवनको कलेज अफ मेडिकल साइसेन्समा भएको मिर्गौला प्रत्यारोपणमा अस्पतालको प्रत्यक्ष मिलेमतो रहेको प्रहरीले जनाएको छ । नाता नै नपर्ने व्यक्तिले मिर्गौला दिन लागेको थाहा हुँदाहुँदै पनि चिकित्सकहरूले प्रत्यारोपण गरेको प्रहरी दाबी छ । मिलेमतोको आशंकामा प्रहरीले अस्पतालका तीन चिकित्सकसहित १२ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ललितपुरका एक ५५ वर्षीय व्यक्तिको गत वर्ष जेठमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । नजिकको नाता पर्ने व्यक्तिले मात्र मिर्गौला दिन सक्ने कानुनी प्रावधान छ । सोहीअनुसार भान्जाको नाममा कागजपत्र बनाइएको थियो ।
तर, भान्जा भने अस्ट्रेलिया थिए । उनको नाममा नाता प्रमाणितलगायत कागजपत्र अस्पतालमा बुझाइएको थियो । कागजपत्रमा फोटो वास्तविक भान्जाकै थियो । त्यो देखेपछि चिकित्सकले नै मिर्गौला दिने व्यक्तिकै फोटो प्रमाणित गरेर ल्याउन भनेका थिए । सोहीअनुसार ललितपुर महानगरपालिका–३ कार्यालयबाट अर्कै व्यक्तिको फोटो राखेर प्रमाणित गरेर पठाइएको थियो । यो घटनामा वडाध्यक्ष श्रीगोपाल महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ आजको नयाँ पत्रिकामा खबर छ।
प्रत्यारोपणमा संलग्न चिकित्सकहरू राकेशकुमार बर्मा, डा।सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेतीलाई पक्राउ गरिएको छ । नाता प्रमाणसम्बन्धी कागजपत्र र व्यक्तिबारे जाँच गर्नुपर्ने समितिमा रहेका कानुनी सल्लाहकार रमेश काफ्ले र जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकालको पनि त्यसमा मिलेमतो रहेकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।











