काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी ओली आन्तरिक रूपमा नेकपा र बाह्य रूपमा कांग्रेससँग संवादमा सक्रिय भएका छन् । पार्टीभित्रको विवाद नमिले कांग्रेससँग समीकरण गरेर अघि बढाउन पनि उनले समानान्तर संवाद जारी राखेका छन् । प्रधानमन्त्री ओलीले प्रतिपक्ष कांग्रेससँग संवाद अघि बढाएर पार्टीभित्रका प्रतिपक्षलाई दबाबमा पारेका छन् ।
विवाद मिलाउन पार्टीभित्र पनि निरन्तर संवाद भइरहेको छ । आइतबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच संवाद भएको छ । ‘म प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्दिनँ, अन्य विषयमा छलफल गर्न तयार छु,’ उनले फेरि पनि दोहो¥याएका छन् ।
ओलीले पार्टीभित्रैबाट अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफूलाई हटाउने र राष्ट्रपति विद्या भण्डारीलाई महाअभियोग लगाउने तयारी गरिरहेको दाबी गरेपछि आइतबार यसै विषयमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच संवाद भएको छ ।
राष्ट्रपतिलाई स्पष्ट पार्न भन्दै प्रचण्ड, नेपाल र खनाल आइतबार शीतलनिवास पुगेका थिए । राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले बालुवाटारमा ओलीलाई भेटेका थिए । उनीहरूबीच सहयोगी नेताहरूसहित करिब पौने दुई घन्टा छलफल भए पनि मुख्य एजेन्डामै प्रवेश नगरी छलफल टुंगिएको थियो ।
दुई अध्यक्षबीचको छलफलमा पूर्वएमाले समूहबाट महासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेल तथा पूर्वमाओवादी समूहबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र ऊर्जामन्त्री वर्षमान पुन सहभागी थिए । छलफलमा दुवै पक्षबीच अविश्वास बढ्नुका कारण र पछिल्ला आरोप–प्रत्यारोपमा केन्द्रित रहेर खुला छलफल भएको सहभागी एक नेताले बताए ।
एकताको मर्मविपरीत पार्टीको स्थापित मूल्य–मान्यता र विधिलाई चुनौती दिएर खुमलटारमा निरन्तर सचिवालय नेताहरूको छलफल राखेर आफूविरुद्ध षड्यन्त्र गरिएको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखेका थिए । प्रचण्डले पार्टी फुटाउने गरी अध्यादेशको तयारी भएपछि छलफल गर्नुपर्ने बाध्यात्मक अवस्था आएको प्रस्टीकरण दिएको नेताहरूको भनाइ छ । ओली र प्रचण्डबीच अध्यादेश र महाअभियोगको विषयमा केन्द्रित रहेर केहीबेर सवाल–जवाफ पनि भएको थियो ।
‘तपाईंहरू नियमित अलग्गै खुमलटारतिर बसेर के–के गर्न खोज्दै हुनुहुन्छ, के त्यसरी छलफलमा बसेर पार्टी एकता जोगिन्छ रु कि पार्टी फुटाउन खोज्दै हुनुहुन्छ रु’ प्रधानमन्त्री ओलीले भनेका थिए ।
विनातथ्य–प्रमाण उल्टै आफूहरूलाई राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउने तयारी गरेको भन्दै पार्टीपंक्तिलाई उत्तेजित बनाउन खोजेको भन्दै प्रचण्डले ओलीको विरोध गरेका थिए । ‘तपाईंले समझदारी नै नगरी एक्कासि संसद् अधिवेशन अन्त्य गरेर पार्टी फुटाउनका लागि अध्यादेश ल्याउने तयारी अघि बढाएपछि हामीले छलफल गर्नुपरेन रु’ सहभागी ती नेताले भने, ‘तपाईं ९प्रधानमन्त्री० जस्तो जिम्मेवार व्यक्ति भएर हामीमाथि राष्ट्रपतिमाथि महाअभियोग तयारी गरेको भन्दै झुटो प्रचार गर्ने रु यसरी पार्टी एकतामा संकट पु¥याउने काम नगर्नुस् ।’
जवाफमा प्रधानमन्त्री ओलीले भने कानुन व्यवसायीहरूलाई बोलाएर महाअभियोगकै लागि छलफल गरेको सूचना प्राप्त भएको दाबी गरेका थिए भने प्रचण्डले प्रतिवाद गरेका थिए । ‘मलाई सबै थाहा छ, क–कसलाई बोलाएर के–के छलफल गरिरहनुभएको छ,’ ओलीको भनाइ थियो । प्रचण्डको जवाफ थियो, ‘तपाईंलाई के थाहा छ रु बरु, तपाईंले पार्टी फुटाउन थालेपछि कानुन व्यवसायीसँग परामर्श भएको हो, त्यो आवश्यक थियो ।’
ओली र प्रचण्डले सहमतिको खोजी गर्न दोस्रो तहका नेताहरू पौडेल, पोखरेल, पुन र शर्मालाई अनौपचारिक गृहकार्य गर्नसमेत निर्देशन दिएका छन् । ‘उहाँहरूले आरोप–प्रत्यारोप अबदेखि बन्द गरौँ, दूरी नबढाऊँ, तपाईंहरूले पनि गृहकार्य गर्नुस् भन्नुभएको छ,’ सहभागी एक नेताले भने, ‘कार्यदल नै बनेकोचाहिँ होइन, तर हामीलाई पनि गृहकार्य गर्नुस्, भनेर अनौपचारिक जिम्मेवारी दिइएको छ ।’
ओलीनिकट एक नेताले भने, ‘नयाँ ढंगले सोचौँ भन्ने कुरा भएको हो । हुन्छ सबैले आ–आफ्नो तरिकाले सोचौँ र सोमबार थप छलफल गरौँ भन्ने भएर उठेका छौँ ।’
बालुवाटार छलफलअघि र पछि अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपालसँग खुमलटारस्थित निवासमा दुईपटक छलफल गरेका छन् । राष्ट्रपति विद्या भण्डारीसँगको भेट र बालुवाटार जानुअघि छलफल गरेर प्रचण्ड र नेपाल सँगसँगै शीतलनिवास पुगेका थिए । ओलीसँगको संवादलगत्तै खुमलटारमै प्रचण्डले नेपाललाई छलफल एजेन्डाकेन्द्रित नभएको र सकारात्मक दिशाउन्मुख नभएको ‘ब्रिफिङ’ सुनाएका थिए । नयाँ पत्रिकाबाट











