काठमाडौं, ८ असार । रौतहटको ईशनाथ नगरपालिका– ५ लक्ष्मीनियाँकी २३ वर्षीया रेखादेवी ठाकुरको वर्षदिनअघि गाउँकै सञ्जय ठाकुरसँग विवाह भयो । सञ्जयको परिवारले ११ लाख नगद दाइजो पनि लिए । तर, दाइजो रकम सञ्जयका बुबा नागेन्द्र आफैँले राखे ।

kutpitसञ्जयले बुबासँग उक्त रकम माग्ने आँट गरेनन्, बरु पत्नी रेखादेवीलाई माइतबाट थप रकम ल्याउन भन्दै यातना दिन सुरु गरे । यातनाको शृृंखला बढ्दै गएपछि रेखादेवी ज्यान जोगाउँदै माइत गइन् । केही समयपछि सञ्जयले आगामी दिनमा यातना नदिने प्रतिबद्धता गरेर पत्नीलाई घर ल्याए ।

तर, रेखादेवीमाथिको यातना रोकिएन, झन् बढ्यो । यही क्रममा आठ महिनाकी गर्भवती रेखादेवी १८ वैशाखमा घरमै मृत फेला परिन् । मृतकका भिनाजु रोशन ठाकुरका अनुसार रेखादेवीको घाँटीमा नीलडाम थियो, अनुहारमा रगतका टाटा र कपाल असरल्ल छरिएका थिए । तन्नामा पोका पारिएको अवस्था भेटिएको शव हेर्दा हत्या गरिएको अनुमान सजिलै गर्न सकिन्थ्यो । ‘दाइजोको विषयमा विवाद थियो । ११ लाख रुपैयाँ त पहिले नै बुझाएको हो । पुगेन भनेर बहिनी (साली)माथि यातना दिइरहेका थिए । कुटपिट गरेरै हत्या भएको देखिन्छ । निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कडा कारबाही हुनुपर्छ,’ उनले भने ।

ठाकुरका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटले सुरुमा मृतकको पोस्टमार्टम गर्न र पीडित पक्षको जाहरी लिनसमेत मानेको थिएन । तर, सबैतिरबाट दबाब भएपछि मात्रै प्रहरी बाध्य भयो । अहिले अनुसन्धानका लागि मृतक रेखादेवीका ससुरा नागेन्द्र र श्रीमान् सञ्जयलाई पक्राउ गरेको छ । पोस्टमार्टम रिपोर्टमा रेखादेवीको झुन्डिएर मृत्यु भएको उल्लेख गरिएको सूचना आफूहरूले पाएको ठाकुरले बताए । प्रहरीले औपचारिक रूपमा रिपोर्ट सार्वजनिक गरेको छैन । ‘पोस्टमार्टममा झुन्डिएर मृत्यु भएको उल्लेख भए पनि उनीहरू ९रेखादेवीका श्रीमान् र ससुरा०ले कुटपिट गरी झुन्ड्याएको हो भन्ने हाम्रो आशंका हो । प्रहरीले निष्पक्ष छानबिन गरोस्,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले घटना अनुसन्धानकै क्रममा भएकाले पोस्टमार्टम रिपोर्ट सार्वजनिक नगरिएको बताए । ‘हत्या हो कि आत्महत्या भन्ने अनुसन्धानपछि खुल्छ । किटानी जाहेरी दर्ता भइसकेको छ, अनुसन्धानपछि मात्रै घटनाको सम्बन्धमा भन्न सकिएला,’ उनले भने । नयाँ पत्रिकाबाट