घनश्याम बुढाथोकी
रोल्पा, ३१ बैशाख । जिल्ला प्रहरी कार्यालय रोल्पाले आगलागी भएर घर पूर्ण रुपमा क्षति भएका पीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ ।
आगलागी पीडितका लागि जिल्ला प्रशासनले प्रदान गर्दै आएको क्षतिपुर्ति रकम प्राप्तीका लागि प्रहरीको सिफारिस लिन कार्यालयमा पुगेका २ जनालाई सिफारिससँगै राहतका सामग्री सहयोग दिइएको हो ।
बैशाख १८ गते आगलागी हुँदा पीडित भएका रोल्पा नगरपालिका १ खेवासे बस्ने गणेश रसायली र बैशाष २१ गतेका आगलागी पीडित त्रिबेणी १ बस्ने बम बहादुर वलीलाई बिभिन्न सामाग्रीहरू प्रदान गरिएको हो ।
लकडाउनको अबस्थामा पनि घण्टौ पैदल हिडेर जिल्ला प्रहरी कार्यालय पुगेका उनीहरुलाई राहत मिलोस भन्ने उद्देश्यले प्रतिव्यक्ति त्रिपाल, प्लास्टिक गुन्द्री, तथा अन्य भाडावर्तन प्रदान गरिएको प्रहरी नायब उपरिक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।











