काठमाडौं, २७ वैशाख । केही सञ्चारमाध्यमहरुमा आइतबारदेखि सरकारी कार्यालय खुल्ने समाचार आएपछि यसबारे सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतवारदेखि सरकारी कार्यालय खुल्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेको हो ।
अत्यावश्यकीय सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानहरुमा आवश्यक कर्मचारीमात्र कार्यालय आउने यस अघिको व्यवस्था यथावत रहेको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार वैशाख २४ गतेको मन्त्रिपरिषद्को निणर्यानुसार बैंक वित्तीय संस्था, विमा, सहकारी तथा धितोपत्रसँग सम्बन्धित सार्वजनिक कार्यालयहरु भने आंशिक सञ्चालनमा आउनेछन् । केही सञ्चारमाध्यमले गलत समाचार प्रकाशन गरेका कारण कर्मचारी वर्गमा अन्यौल बढेको थियो ।











