इन्द्रेणी संवाददाता
दाङ, २१ बैशाख । विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिरहेकोबेला नेपालमा पनि कोरोनाबाट संक्रमण हुनेको संख्या बढेपछी जिल्ला स्वास्थ्य कार्यालय दाङले उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाएपछि यो रोग बिरुद्द अग्रपंतिमा लड्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ लड्न स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले अनुरोध गरेकी छिन ।

यसभन्दा अगाडी पूर्वी नेपालको उदयपुरबाट उदायको कोरोना भाइरसको संक्रमण हाल पश्चिम नेपालको नेपालगंजमा पनि देखिएको छ । पाँच नम्बर प्रदेश अन्तर्गत नेपालगंजमा हिजो मात्र १ जनामा देखिएको यसको संक्रमण आज एकैदिन १५ जनामा देखिएपछी नेपालगंजको सिमानामा पर्ने दाङमा पनि यसको जोखिम हुन सक्ने भन्दै सबैलाई सजग रहन प्रमुख पौडेलले अनुरोध गरेकी हुन् ।

दाङमा पनि भारतीय खुल्ला नाकाका कारण भारतबाट आयातितमा यसको संक्रमण हुने देखिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख पौडेलले नेपाल सरकारले घोषणा गरेको लकडाउनको कडाइका साथ पालना गर्न अपिल गरेकी छिन ।

यसका अतिरिक्त सामाजिक तथा भौतिक दुरी कायम गर्दै सबैले आफ्नो परिवार संग मात्र एकान्त बास बस्न समेत प्रमुख पौडेलले अपिल गरेकी छिन । यस्तो संक्रमणको बिकराल अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै महत्वपूर्ण भएकाले काम गर्दा स्वास्थ्य तथा सुरक्षा उपकरण प्रयोग गरेर सचेतता पूर्वक काम गर्न प्रमुख पौडेलको अनुरोध छ ।

हाल सम्म उपचारका लागि कुनै पनि औषधि समेत पत्ता नलागेको सरुवा रोग कोरोना भाइरसको अचुक औषधि भनेकै लकडाउनको पालना गर्ने मात्र भएकाले यसको पालना गर्न सबैमा अनुरोध गरेकी छिन ।
प्रमुख पौडेलका अनुसार नेपालगंजमा देखिएको यो रोगको संक्रमण बढ्न नदिन सबैले अनुसासित पूर्वक लकडाउनको पालना गर्नुपर्छ ।
यसैगरी यसको रोगथामको अर्को विकल्प भनेको द्रुत गतिको कोरोना परिक्षण भएकाले स्थानीय पालिकाहरुलाई समेत प्राप्त भएका श्रोत साधनहरुले द्रुतगतिमा परिक्षण गर्न अनुरोध गर्दै स्वास्थ्य कार्यालय प्रमुख पौडेलले यसलाई नियन्त्रणका लागि सबै नागरिकहरु अनुसासित पूर्वक लकडाउनको पालना गर्न सुझाएकी छिन ।