इन्द्रेणी संवाददाता
काठमाडौं, २१ बैशाख । नेपालमा आज एक दिन दश जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । नेपालगञ्जका ९ र बीरगञ्जमा एक जना गरी दश जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आजको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दश जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको जानकारी दिए ।
नेपालगञ्जमा संक्रमित भएका सात वर्षदेखि ५८ वर्षसम्म उमेर समूहकाे भएकाे र त्यसमा पाँच पुरूष र चार महिला रहेकाे बताइएकाे छ । वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यसैगरी वीरगञ्जस्थित नारायणी अस्पतालमा बैशाख २ गते भर्ना भई उपचार गराएर वैशाख १४ गते कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः उपचारका लागि नारायणी अस्पतालमा नै भर्ना भएका छन् । कोरोनामुक्त भएको भनी डिस्चार्ज भई घरमा बसोवास गर्दै आएका रौतहटको इशानाथ नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय बच्चा अन्सारी डिस्चार्ज भएको एक सातापछि पुनः उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।
नारायणी अस्पतालको आइशोलेनशमा १२ दिनसम्म उपचार गराएका अन्सारीको पीसीआर परीक्षणको तेश्रो , चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले बैशाख १४ गते उनलाई डिस्जार्च गरी घर पठाईएको तर पछि क्रस चेक गर्दा अन्सारीको रिपोर्ट शंकास्पद देखिएपछि पुनः अस्पतालमा ल्याएर आइशोलेनशमा राखी उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिएका छन् ।











