गोविन्द रिजाल 

घिसारेर वात्सल्यको लास
वृद्धाश्रमको पेटीमा छाडेपछि
मुस्कुराँउदै गाएको थियो
उसले मातृवन्दना ।।

आमाको मुख हेर्ने दिन
पोखेर कविता जस्ता मिठा शब्दहरू
उसले
पोत्यो मुहारपुस्तिकामा
आमाको सुन्दर तस्बिर
र चढायो मुहारपुस्तिकामा नै
स्वादिष्ट परिकारहरू ।।

हेर्नुस त
कति नालायक छु म
एकाबिहानै
झिकेर मुटुबाट आमाको तस्बिर
टाँस्न सकिन
मुहार पुस्तिकामा
उसले जस्तै ।।

किनकि,
साह्रै गाह्रो हुँदोरहेछ
आमाका चरणमा
श्रद्धाले चढाएको मन
झिकेर अन्तै टाँस्न ।।

(मातातिर्थ औसीको उपलक्ष्यमा सबै आमाहरूमा नमन)