केशरमान बुढाथोकी
विश्वमा कोरोना भाइरसको महामारीले आक्रान्त छ । अहिले सम्म पनि कुनै भ्याक्सिन पत्ता लाग्न नसकेको कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि दिनानुदिन आक्रान्त बन्दै गैरहेको छ । कोरोना विरुद्धको लडाइको अग्रपंतिमा छन् स्वास्थ्यकर्मी । तिनै स्वास्थ्यकर्मी कोरोना बाट बच्न पिपिइ माग्दा जागिर बाटनै निकालिन्छन भन्दा अनौठो लाग्ला । अनौठो मान्नु पर्दैन त्यस्तै घटना घटेको छ दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ।
कोरोना विरुद्धको लडाइमा ज्यानको बाजी थापेर अग्रमोर्चामै खटिएर बिरामीको उपचारमा संलग्न रहेका डाक्टरले सम्भावित संक्रमण हुनबाट जोगिन भन्दै आफु कार्यरत प्रतिष्ठानलाई पिपिइ मागे । आफैमा डाक्टर जस्तो संवेदनशील पेशा त्यसमाथि राज्यले कोरोनाबाट मुक्त नहुँदासम्म स्वास्थयकर्मीहरुलाई बिदा नै नबस्न गरेको अपिल । आफ्नो जीवन जोखिममा राखेर अरुको जीवन जोगाउन अग्रसर चिकित्सकहरुलाई महामारीको बेला प्रोत्साहन गर्नुको सट्टा कारबाही गरेपछि सबै आश्चर्य चकित परेका छन् ।
प्रतिष्ठानमा कार्यरत चिकित्सक डा। अमृता श्रेष्ठलाई कोरोना शंकास्पद बिरामीको उपचारमा खटिदा आवश्यक पर्ने पिपिइ माग्दा जागिरबाट हटाइएको छ । कोरोनाका शंकास्पद बिरामी आएपछि उपचारमा खटिदा जोखिम हुने भन्दै डा। श्रेष्ठले प्रतिष्ठान प्रसासन समक्ष पिपिइ माग गरेकी थिइन । तर उनको माग तर्फ प्रतिष्ठान प्रशासन मौन रहेपछि डा। श्रेष्ठले प्रतिष्ठानमा पीपीई नलगाई बिरामी जाँचिरहेको फोटो खिचेकी थिइन । यस्तै उनले प्रतिष्ठानका स्वास्थयकर्मीहरुको फेसबुक ग्रुपमा यस्तो संवेदनशील अवस्थामा पिपिइ माग गर्नुपर्ने आवाज उठाएपछि उनलाई प्रतिष्ठान प्रशासनले बैशाख १ गतेबाट जागिरमा नआउनु भन्ने पत्र थमाइदियो ।
पिपिइ माग गर्दा जागिरबाट हटाइएको हो ? भन्ने प्रश्नमा उनले भनिन ‘कोरोनाका शंकास्पद बिरामी आएपछि मैले प्रतिष्ठान प्रशासन समक्ष पिपिइ माग गरेकी थिए नपाएपछी पिपिइ नलगाई उपचारमा खटिएको फोटो खिचेकी थिए उक्त फोटो एउटा फेसबुक पेजमा सार्वजनिक भयो त्यसपछि प्रतिष्ठान प्रशासन मा संग रुष्ठ भएको रहेछ । पछी मैले हाम्रो इमरजेन्सीमा कार्यरत स्वास्थयकर्मीहरुको फेसबुक ग्रुपमा पीपीई माग गर्नुपर्ने कुरा लेखेकी थिँए । यति निँहुमा मलाई जागिरबाट नै हटाइयो । ’
श्रेष्ठसँगै प्रतिष्ठानमा कार्यरत डा सृष्टि चौधरी र सिमेन्द्र खडकालाई पनि बैशाख १ गतेबाट उपस्थित नहुनेगरी जागिरबाट हटाइएको छ । यो संकटको समयमा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको साटो अनावश्यक धम्काउने , स्वास्थ्य सामाग्री माग्दा जागिरबाट नै हटाईदिने जस्ता संवेदनाहीन पृवृति प्रतिष्ठानका पदाधिकारीले देखाएपछि बाध्य भएर डा। चौधरी र खड्काले प्रतिष्ठानबाट आफैले राजिनामा दिएको प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीले बताए ।
त्यस्तै बिगत १६ महिना देखि दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत घोराही १५ की स्टाफ नर्स प्रकृती डिसीले कोरोना शंकास्पद बिरामी एपछी प्रतिष्ठानलाई पिपिइ मागेकी थिइन । प्रतिष्ठानले पिपिइ दिएपछि ढुक्क भएर बिरामीको सेवा गर्ने सोचेकी डिसी जागिरबाटै निकालेपछि खिन्न भएको बताइन ।
गत चैत्रको पहिलो साता प्रतिष्ठानमा कोरोनाको आशंका गरिएको बिरामी भर्ना भएपछी पिपिइ मागेकी डिसीलाई प्रतिष्ठान प्रसासनले बैशाख १ गते देखी जागिरमा नआउन भनेपछी खिन्न हुदै हाल घरमै बसेकी छिन । बिरामी भर्ना भएपछि मेडिकल वार्डमा कार्यरत डिसीले प्रतिष्ठानसँग पीपीई माग गरेकी थिइन । तर प्रतिष्ठानले पीपीई उपलब्ध नगराएपछि उनले आफनो फेसबुकमा ‘कमजोर प्रशासन ’ भनेर लेखेकी थिइन । ‘
नेपालमा सुरक्षा सामाग्री बिना चिकित्सकलाई कोरोनोका उपचारका लागि खटाउनु भनेको सीपाहीलाई हतियार बिना युद्धमा खटाउनु हो । ’ उनले लेखेकी छन् ‘ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको यस्तै लाजमर्दो अवस्था छ । ’ डिसीले सार्वजनिक रुपमा नै आफु कार्यरत प्रतिष्ठानको अवस्था जानकारी गराएपछि उनलाई जागिरबाट हटाइएको हो । उता प्रतिष्ठानले भने डिसीको कार्य सम्पादन मुल्यांकन राम्रो नभएकाले हटाइएको बताएको छ ।











