इन्द्रेणी संवाददाता
दाङ, २८ चैत । दाङको घोराही उपमहानगरपालिकाले विभिन्न तहका शिक्षक तथा कर्मचारीको तलव काटेर ४० लाख बराबर रकम कोरोना राहात कोषमा जम्मा गर्ने भएको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिका संयोजक एवं नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा आज वसको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले उपमहानगरको कोरोना राहात कोषमा सहसचिब स्तर शिक्षक कर्मचारीबाट ७ दिनको, उपसचिब र शाखा अधिकृतको ५ दिने र नायब सुब्बालेखि तलका कर्मचारीहरुको ३ दिन बराबरको तलव काटेर करीव ४० लाख बराबर राहात कोषमा जम्मा गर्ने निर्णय गरेको हो । त्यस्तै स्वास्थ्य, सफाइ, विपद्, ज्यालादारी कर्मचारीलाई सहयोगमा स्वइच्छा रहने पनि बताइएको छ ।
त्यसैगरी बैठकले ज्यालादारी, विपन्न गरिव परिवारका लागि राहत दिने संघसंस्थाहरुले उपमहानगरमा जम्मा गर्ने र वडामा तयार भएका तथ्यांकको अनुगमन, अध्ययन गरेर मात्रै वडा मार्फत वितरण गर्ने, वडाहरुमा वितरण भएका राहतको विबरण ३ दिनभित्र विपत व्यवस्थापन शाखामा उपलब्ध गराउने, नगरभित्र लकडाउनलाई थप कडाइ र प्रभावकारी बनाउन स्थानीय प्रशासनलाई अनुरोध गर्ने, दाङ जिल्ला उद्योग बाणिज्य संघले सञ्चालन गरेको होम डेलिभरी सेवालाई निरन्तरता दिदै थप प्रभावकारी बनाउने र गाउँमा उत्पादन भएका तरकारी र दुग्धजन्य पदार्थहरुलाई पनि होम डेलिभरी सेवामार्फत उपभोक्ताको घरघरमा पु¥याउने निर्णय गरेको मेयर नरुलाल चौधरीको प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिएका छन् ।











