दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीकी मनिषा गुरुङलाई व्यसायिक केराखेती गर्न अत्यन्त मन थियो । किन भने आफूमा केराखेतीका लागि आवश्यक ज्ञान पनि थियो र आफ्नै ठाउँमा केराखेतीका लागि उर्वर भूमि पनि । तर उनलाई केराखेतीमा लगानी गर्ने रकमको अभाव थियो ।

Banana‘इच्छा भए उपाया अनेक’ भनेझै उनलाई त्यो अभाव पनि पुरा ग¥यो जिल्लाकै ग्रामीण महिला उत्थान केन्द्र नामक लघुवित्त संस्थाले । मनिषाले तीन वर्ष अघि संस्थाबाट विनाधितो रू. ४ लाख पाइन अनि व्यवसायिक केराखेतीमा लगानी गरिन । लगानी गरेर परिश्रम गरेपछि अहिले उनले आफ्नै बारीको केराखेतीबाट राम्रो अम्दानी गरिरहेकी छन् । ‘पहिलो वर्ष केही समस्या भयो तर अहिले राम्रो आम्दानी भइरहेको छ’, उनले भनिन् ।

शुरुमा ६ सय केराका बोटबाट व्यवसाय थालनी गरेकी मनिषाले अहिले पाखापानी लालमटियामा १५ कट्ठा जग्गामा ३ हजार केराका बोट लगाएकी छन् । गतवर्ष केराखेतीबाट सबै खर्च कटाएर रू. २ लाख आम्दानी गरेको उनले बताएन् । ‘पोहरसाल चोक्खो २ लाख रुपैयाँ बचेको हो’, उनले भनिन्, ‘यसवर्ष त केराका बाटे पनि बढी छन् आम्दानी बढ्ने आशामा छु ।’

यसवर्ष उनले रू. ७ लाखभन्दा बढीको केरा उत्पादन गर्ने लक्ष्य उनको छ । जिल्लामा केरा उत्पादन कमै हुने र बढी भारतवाटै भित्रने भएकाले लगाएको केराको बजारिकरणमा समस्या छैन । उनले हरिछाल बर्गभित्र पर्ने जीनाइन जातको केराखेती गरेकी छन् ।

दाङमा वर्षेनी १० हजार ५ सय ८४ मेट्रिकटन् केरा खपत हुन्छ । तर त्यसको झण्डै ७५ प्रतिशत केरा वाहिरबाट आयात गरिन्छ । कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा वार्षिक रुपमा २ हजार ६ सय मेट्रिकटन् छ । जुन वार्षिक खपतको करीव २५ प्रतिशत हुन आउछ ।