दार्चुला, १५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको दार्चुलास्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ तथा नागरिक अभिनन्दन ग्रहणका लागि आज यहाँ आइपुगेकी छन् । मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुनमा उनलाई पहिलो पटक अभिनन्दन गर्न लागिएको हो ।

rastapatiराष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीलगायतले स्वागत गर्नुभएको थियो । राष्ट्रको सातौँ धामका रूपमा रहेको मालिकार्जुन मन्दिरमा राष्ट्रपति भण्डारीले विशेष पूजापाठ गर्ने कार्यक्रम छ । सुदूरपश्चिम प्रमुख शर्मिलाकुमारी पन्त र प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि आइपुगेका छन् ।

मालिकार्जुन मन्दिर सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तीर्थस्थल हो । भगवान् शिवका १२ ज्योतिर्लिङ्गमध्ये दोस्रो ज्योतिर्लिङ्ग मालिकार्जुनलाई मानिन्छ । यस क्षेत्रमा दार्चुला जिल्लाका साथै सुदूरपश्चिम र भारत उत्तराखण्डका नागरिकले आराध्यदेवका रुपमा मालिकार्जुनको पूजापाठ गर्छन् । सरकारले पर्यटकीय गन्तव्यको एक सय सूचीमा यसलाई समावेश गरेको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा राष्ट्रपतिको भ्रमणले स्थानीयस्तरमा खुशीयालीसमेत छाएको शिक्षक भुवन डागाले बताए । रासस