काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
उक्त न्यून चापीय प्रणाली बुधवार बेलुकादेखि बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताइन् । ‘बिहीवार र शुक्रवार देशभर वर्षा हुने सम्भावना छैन’, उनले भनिन् ।
बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुला भई घाम लाग्ने बताइएको छ । राति देशका मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने औंल्याइएको छ ।
शुक्रवार देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपराह्नपछि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
शनिवारदेखि फेरि अर्को नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ । रासस











