तुलसीपुर, १३ फागुन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर वहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा छोटो अवधिको वन्यजन्तु प्राविधिक तालिमको सुरुवात भएको छ ।
यसै शैक्षिक सत्रबाट ३ वर्षे वनविज्ञान कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले सिटिइभिटीको सहयोगमा उक्त तालिम सञ्चालन गर्न लागेको हो । उपमहानगरपालिका भित्रका १९ वटै वडाका ६० जना प्रशिक्षार्थीलाई लक्षित गरेर ३ सय ९० घण्टाको उक्त तालिम सञ्चालन गरिएको हो ।
यसैविच तालिमको उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा वोल्दै उनले प्राविधिक शिक्षाको विकासका लागि उपमहानगरपालिकाले विभिन्न तालिमहरु सञ्चालन गर्न लागेको कुरामा जोड दिए । “अहिलेको युग नै प्रविधिको युग भएकाले हामीले प्राविधिक शिक्षामा जोड दिएका हौँ” उनले भने ।
देशलाई अहिले प्राविधिक जनशक्तिको आवश्यकता भएको तर्फ जोड दिदै उनले सिकेको कुरालाई व्यवहारमा उतार्नका लागि अनुरोध समेत गरे ।
हरिपौरी माविका प्रधानाध्यापक रुद्रवहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले तालिमका वारेका प्रकाश पारेका थिए । सञ्चालन समिति सदस्य शम्भु रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका सहजिकरण कार्यक्रम संयोजक पुजा नेपालीले गरेकी थिइन् ।











