इन्द्रेणी संवाददाता
दाङ, १० फागुन । प्रदेश ५ सरकारको आयोजनामा दाङको वेल्झुण्डप्मा आजदेखि प्रदेशस्तरीय ‘एक्स्पो’ शुरु भएको छ । एक्स्पोको उद्घाटन प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले गरे ।
एक्स्पोको उद्घाटन गर्दै यसले प्रदेश नम्बर ५ को आर्थिक संमृद्धिको ढोका खोल्न महत्वपूर्ण भूमिका खेल्ने बताए । एक्स्पोमा प्रदेश सरकारले आफ्नो स्थापनाको दुई वर्षसम्म गरेको कामबारे पनि जानकारी हुने भएकाले प्रदेशको वर्तमान अवस्थालाई समीक्षा गर्दै आगामि दिनमा कसरी अघि बढ्ने भन्ने बाटो निर्धारण गर्न सकिने उनले बताए ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री एवं एक्स्पोका संयोजक कुलबहादुर केसीले प्रदेश सरकारका हालसम्मका गतिविधि र उपलब्धिबारे जानकारी दिने, प्रदेश नं। ५ को विविधता, उत्पादन, पहिचान, संस्कृति र विकासको स्थितिको जानकारी दिने, ‘समृद्ध प्रदेश, खुशी जनता’को लक्ष्य पूरा गर्न अभिप्रेरित गर्ने र प्रदेश ५ मा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षाका क्षेत्रमा योगदान दिने तथा उत्साह ल्याउने एक्स्पोको मूल उद्देश्य यो एक्स्पोको आयोजना गरिएको जानकारी दिए ।
फागुन १२ गतेसम्म चल्ने एक्स्पोमा प्रदेश ५ का १२ वटै जिल्लाको उत्साहजनक सहभागीता छ ।











