काठमाडौं, २२ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण भएको छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।
महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ । महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका उनलाई काठमाडौं ल्याइएको थियो ।
डेंगु संक्रमण भएर अस्पताल भर्ना हुनेमा एथलेटिक्सबाट स्वर्ण विजेता अमासा डी सिल्भा पनि छिन् । उनले महिलातर्फ चार गुुणा सय मिटर दौडमा स्वर्ण र सय मिटर दौडमा रजत जितेकी थिइन् । अन्य ६ खेलाडी भने ब्लुक्रसमै उपचारपछि डिस्चार्ज भएर होटेल फर्किएका छन् ।











