प्यूठान, ८ मंसिर । मुलुकमा रोजगारीको वातावरण नभएको भन्दै दैनिक हजारौं युवाहरु बिदेश पलायन भइरहेका बेला प्यूठानमा पछिल्लो समय व्यावसायिक बाख्रापालनतर्फ युवाहरु आकर्षित हुँदै गएका छन् ।
व्यावसायिक बाख्रापालनका लागि स्थानीय सरकार, प्रदेश तथा केन्द्र सरकारले अनुदान दिन थालेको र बाख्रापालनका लागि प्यूठान राम्रो संम्भावना भएको जिल्ला भएका कारण व्यावसायिक बाख्रापालन गर्ने युवाको संख्यामा वृद्धि हुँदै गएको हो ।
जिल्लाका युवाले यो व्यवसायबाट राम्रो आम्दानीसमेत लिन लिइरहेका छन् । जसमध्येका एक हुन् माण्डवी गाउँपालिका २ मर्काबाङका दल बहादुर खत्रीका तिन दाजुभाई । शिक्षक पेशा छाडेर दल बहादुर खत्री सहित तिन भाई बाख्रापालनमा सक्रिय छन् । उनीहरुले बिगत ८ वर्षदेखि गाउँमा यो व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरुले सञ्चालन गरेको बाख्रा फर्म अहिले प्यूठान जिल्लाकै नमूना फर्म बनेको छ ।
३० ओटा बाख्राबाट शुरु गरिएको फर्ममा ३००भन्दा बढी बाख्रा छन् । लेकाली बाख्रापलन फर्म दर्ता गरी यो व्यवसाय शुरु गरेको व्यावसायी दल बहादुर खत्री बताउँछन् । ‘आफ्नो गाउँको स्रोत साधनको उपयोग गरी स्वरोजगार बन्न प्रयास गरेका हौं’, उनले भने ।
उनले खसीबोका विक्री गरेर वर्षमा रू।३० लाख बढि आम्दानी गर्दै आएका छन् । फर्मबाट उत्पादन भएका खसीबोका प्यूठान जिल्लाका बिभिन्न स्थानसहित दाङ,रोल्पा लगायतका जिल्लामा विक्री वितरण हुने गरेको अर्का व्यावसायी हेमराज खत्रीले बताए ।
‘खसीबोकाको विक्रीका लागि बजारको समस्या छैन’ उनले भने, ‘हाम्रा खसीबोका बाहिरी जिल्लामा पनि जान्छन् ।’ तिन दाजुभाइ हेमराज, यदुराम र दलबहादुर खत्रीले जिल्लामै पहिलो पटक व्यावसायिक रुपमा खसीबोका पालेका हुन् ।
उनीहरुले बाख्रापालनका लागि सामुदायीक वनको २२२ रोपनी र आफ्नो चार हेक्टर जमीनमा घाँस रोपका छन् । उनीहरुको फर्म पछिल्लो समय सिक्ने र अनुगमन गर्ने केन्द्र समेत बन्दै गएको छ ।
यस वर्ष मात्रै ब्याड बोका र माउबाख्रा गरी १०० ओटा विक्री भएका छन् । जसबाट उनीहरुले रू।१६ लाख भन्दा बढि आम्दानी गरेका छन् ।यस्तै प्यूठान नगरपालीका ३ बिजयनगर डुर्मेलीका तिन दाजुभाइले पनि गाउमै व्यावसायिक बाख्रा पालन शुरु गरेका छन् ।
स्थानीय बीके, टुकमान र शोभाराम सुनारले फर्म सञ्चालन गरेका छन् । रू।५० लाखको लागतमा उनीहरुले फर्म सञ्चालन गरेका हुन् । उनीहरुको फर्ममा अहिले ५० ओटा माउवाख्रा छन् ।
उनीहरुजस्तै यहाका ५० भन्दा बढि युवाहरुले व्यावसायिक रुपमै बाख्रा पाल्न शुरु गरेको पशु बिज्ञ केन्द्र तथा पशु सेवा कार्यालय, प्यूठानका अधिकृत बासुदेब श्रेष्ठले बताए राजेश जीसीले अभियानमा समाचार लेखेका छन्।











