दाङ, ४ मंसिर । निर्माण कम्पनीसँग सम्झौता भएको १० महीनासम्म पनि लमही–तुलसीपुर सडक विस्तारको काम शुरू हुन सकेको छैन । उक्त सडक चार लेनको बनाउन भारतीय निर्माण कम्पनी तथ्य इन्जिनीयरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बई र सडक विस्तार योजनाबीच २०७५ पुस १३ गते सम्झौता भएको थियो । ३० महीनाभित्र काम सम्पन्न गरिसक्ने सम्झौता भए पनि कम्पनीले अझै काम थालेको छैन ।

katuwakholaसडक विस्तारका लागि निर्माण सामग्री परीक्षणको काम सम्पन्न भइनसकेकाले काम थाल्न ढिलाइ भएको लमही–तुलसीपुर सडक योजनाका इन्जिनीयर पारसमणि हमालले बताए । ‘निर्माण सामग्रीको गुणस्तर परीक्षणका लागि नमूना पठाइसकिएको छ,’ उनले भने, ‘नतीजा आउनेबित्तिकै काम शुरू हुन्छ ।’

लमहीदेखि घोराही हुँदै तुलसीपुरसम्म करीब ५० किलोमिटर सडक चार लेनमा विस्तार गर्न ढुंगा, गिट्टी, बालुवालगायत निर्माण सामग्री जिल्लाकै बबई नदी, ग्वारखोला, राम्रीलगायत क्षेत्रको प्रयोग गरिने योजना कार्यालयले बताएको छ । इन्जिनीयर हमालका अनुसार सडक विस्तारको काम दुई चरणमा हुनेछ । पहिलो चरणमा लमही–सर्रा र दोस्रो चरणमा दुधरास–तुलसीपर खण्डको काम गरिनेछ । सम्भवतः यसै हप्ताभित्र पहिलो चरणको काम शुरू हुने उनले जानकारी दिए ।

उक्त सडक खण्ड चार लेनको बनाउन ठेकेदार कम्पनीले १ करोड २१ लाख ८२ हजार अमेरिकी डलरमा जिम्मा लिएको छ । काम अझ शुरू नभएकाले निर्धारित अवधिमा सम्पन्न गर्न चुनौती देखिएको छ । यसले लागत पनि बढाउने अनुमान गरिएको छ । सडक खण्ड अन्तर्गत पर्ने घोराही बजार क्षेत्रको सडक भने दुई लेनको मात्र हुनेछ । यस क्षेत्रमा सडक बीच ९डिभाइडर०बाट दाँया–बाँया १५र१५ मिटर कायम गरी विस्तार भइसकेकाले तत्काल ४ लेनको बनाउन सम्भव नभएको हो ।