आफू पनि ढुँगा हुन्छन् ढुँगा पुज्नेहरु
एक्लै हाँस्छन् एक्लै रुन्छन् ढुँगा पुज्नेहरु !

मान्छे भएर मान्छे विरुद्ध
सधैं तानाबाना बुन्छन् ढुँगा पुज्नेहरु

गर्छन् अनेक पाप पैसाका लागि
पैसाले नै पाप धुन्छन् ढुँगा पुज्नेहरु

थुक्छन् सधैं स्रष्टालाई तर मन्दिरमा
निधारले मूर्ति छुन्छन् ढुँगा पुज्नेहरु !

आफू पनि ढुँगा हुन्छन् ढुँगा पुज्नेहरु
एक्लै हाँस्छन् एक्लै रुन्छन् ढुँगा पुज्नेहरु !
(२०७६ कार्तिक ४ घोराही, दाङ)