रोल्पा, २८ असोज । रोल्पाका महिला पछिल्लो समय घरेलु तथा साना उद्योग सञ्चालन गरी स्वरोजगार बन्न थालेका छन् । उनीहरूले अल्लोको सदुपयोग गर्दै त्यसबाट बन्ने विभिन्न कपडाहरू उत्पादन गरी राम्रो आम्दानी गर्न थालेका हुन् ।
पहिले पहिले घरको काममा मात्र व्यस्त हुने रोल्पाका महिला आजभोलि गाउँमै खुलेको साना तथा घरेलु उद्योगमा व्यस्त देखिन थालेका छन् । सरकारले सञ्चालन गरेको शीपमूलक तालीमबाट यहाँका महिलाले अल्लोबाट विभिन्न कपडा उत्पादन शुरू गरेका छन् । महिलाले अल्लोबाट बन्ने कोट, झोला, टोपी, पटुका, सल उत्पादन गरी स्वरोजगार मात्रै बनेका छैनन्, राम्रो आम्दानी पनि गरिरहेका छन् । कतिपय महिलाले व्यक्तिगत उद्योग खोलेका छन् भने कतिपयले सामूहिक रूपमा उद्योग सञ्चालन गरेको रोल्पा नगरपालिका–४ लिबाङकी गीता थापाले बताइन् । ‘दैनिक हिसाब राख्ने गरेका छौं,’ उनले भनिन्, ‘महीना–महीनामा आम्दानी बाँड्ने गर्छौं ।’
अल्लो तथा ढाकाका कपडा जिल्लामा बाहिरबाट आउने पाहुनालाई उपहार स्वरूप दिने प्रचलनले पनि अल्लो र ढाका उद्योग फस्टाउँदै गएको परिवर्तन गाउँपालिका–४ इरिबाङमा अल्लो उद्योग सञ्चालन गर्दै आएकी लक्ष्मी डाँगीले बताइन् ।
अल्लो प्रवद्र्धनका लागि रोल्पाको रोल्पा नगरपालिका र ५ नम्बर प्रदेश सरकारले जनप्रतिनिधिका लागि अल्लो कोट अनिवार्य लगाउनुपर्ने निर्णय गरेका छन् । रोल्पाबाट वर्षेनि ३ देखि ४ करोड रुपैयाँको कपडा तथा धागो नेपालगञ्ज, बुटवल, काठमाडौं लगायत विदेशमा समेत निर्यात हुने गरेको छ ।
रोल्पामा सञ्चालित १ दर्जन बढी अल्लो उद्योगमा साढे ४ सयभन्दा बढी महिला स्वरोजगार बनेको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाको तथ्यांकले देखाएको छ । अभियानबाट











