रौतहट, २७ असोज । इँटाभट्टामा हालेर पाँचजनाको निर्मम हत्या गरेको अभियोगमा प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री मोहमद अफ्ताव आलम पक्राउ परेका छन् । राजपुर फरहदवास्थित घरबाट गौरतर्फ आउनेक्रममा गौर–चन्द्रपुर सडकखण्डमा आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो । ११ वर्षअघिको घटना भए पनि राजनीतिक दबाबका कारण प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

alamपहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँचजनालाई इँटाभट्टामा जलाएर मारेको आरोप उनीमाथि छ । चुनावमा प्रयोग गर्न भारतबाट भाडामा मान्छे ल्याएर काका शेख इन्द्रिसको गोठमा बम बनाउन लगाएको अवस्थामा विस्फोट भएको थियो । २७ चैत ०६४ मा बम पड्किएर केहीको मृत्यु भएको थियो भने विस्फोटमा घाइते भएका पाँचजनालाई ट्र्याक्टरमा राखेर राजपुरस्थित आफन्तको इँटाभट्टामा हालेको आरोप छ । विपक्षीलाई तर्साएर चुनाव जित्न उनले बम विस्फोटको योजना बनाएका थिए ।

बम विस्फोटमा सरुअठा गाउँका २५ वर्षीय पिन्टु सिंह, राजपुर फरहदवाका ओसी अख्तर र अन्य तीन भारतीय घाइते भएकोमा घटनाको पोल खुल्ने डरले उनीहरूको हत्या गरेको प्रहरी दाबी छ  आजको नयाँ पत्रिकामा खबर छ।

बम विस्फोट गराउँदै अन्य प्रतिस्पर्धीलाई तर्साएर चुनाव जित्ने रणनीतिअन्तर्गत सो घटना भएको थियो । कांग्रेस नेता आलम ०६४ को संविधानसभा निर्वाचन विजयी पनि भए । राजनीतिक शक्तिको आडमा अपराधबाट भने उनी जोगिँदै आएका थिए । प्रहरीले मुद्दा चलाउन अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो ।