इन्द्रेणी संवाददाता
दाङ, असार २४
जिल्ला वन क्षेत्र समन्वय समिति दाङले जिल्लाका बिभिन्न वन समूहहरुमा चालु आर्थिक बर्षमा भएका गतिबिधिहरुको अनुगमन गरेको छ । समितिले देउखुरी घोराही क्षेत्र र पश्चिम क्षेत्रका वन क्षेत्रमा भएका गतिबिधिहरुको अनुगमन गरेको हो ।ban

वन समूहरुले जिल्ला वन कार्यालय, वन महासंघ सहित बिभिन्न संघसंस्थाहरुको सहयोगमा शुरु गरेको अतिक्रमण ब्यवस्थापन, बैज्ञानिक वन ब्यवस्थापन, जीविकोपार्जन सुधारकालागि थालिएका बिभिन्न ब्यावसायिक कार्यक्रम, स्थानीय अनुकुलन योजना अन्र्तगत भएका बिकास निर्माणका कार्य, बृक्षरोपण, नर्सरी तयारी, सिमसार क्षेत्रको संरक्षण, पानीका मुहान संरक्षण, तटवन्ध निर्माण, पोखरी निर्माण, चेकड्याम्प निर्माण लगायतका कार्यको अनुगमन गरिएको जिल्ला वन क्षेत्र समन्वय समितिका सदस्य सचिव जिल्ला वन अधिकृत नवराज काफ्लेले जानकारी दिनुभयो ।

लमहीको दुमदुमा, लालमटियाको घण्टदेव, गढवाका उपल्लोमधपुर र सर्वोदय सामुदायिक वन समूह र  गढवा सेक्टर वनको नर्सरी, त्रिपुरको हरियाली,नारायणपुरको नीजि वन, घोराहीको गोरक्ष, लक्ष्मीपुरको गोरक्ष सामुदायिक वन र धर्नाको पाण्डवेश्वर धार्मिक वनमा जिल्ला वन कार्यालयको सहयोगमा भएका क्रियाकलापको अनुगमन गरिएको थियो ।

त्यस्तै, पुरन्धाराको राष्ट्रिय वनमा जिल्ला वन कार्यालयले गरेको बैज्ञानिक वन ब्यवस्थापन, तुल्सीपुरको राप्ति खुकुरी उद्योग, नवदुर्गा सामुदायिक वनमा गरिएको बैज्ञानिक वन ब्यवस्थापन र नर्सरी र हेकुलीको सिमसार क्षेत्रमा यो बर्षका भएका कार्यको अनुगमन गरिएको थियो । साथै  अनुगमनमा देखिएका गतिबिधिबारे समीक्षा गर्न असार ३० गते समिक्षा बैठक राखिएको जिल्ला वन कार्यालय दाङले जनाएको छ ।।