काठमाडौं, १ जेठ । तीन किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले एकैसाता तीन किशोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
१५ वर्षकी ती किशोरीलाई डर धम्की दिई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय विजय भुजेललाई पक्राउ गरेको हो ।
त्यसैगरी सूर्यविनायक नगरपालिका–९ नङ्खेलको सिटी गाउँ होटलमा गत वैशाख २७ गते लगेर डर धम्की दिई १५ वर्षीया अर्की किशोरीलाई बलात्कार गरेको अभियोगमा बर्दिया बैदी नगरपालिका–१० घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने २० वर्षीय आशिष चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै सिन्धुपाल्चोक चौतारा गाउँपालिका–९ घर भई हाल मध्यपुरथिमि नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बु जिल्ला सोताङ्ग गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमी नगरपालिका–९ बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरेको हो।











