बाँके, २७ वैशाख । नेपालको पश्चिम तराइमा लु चल्दा जनजीवन प्रभावित भएको छ । सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा लु चलेको छ ।
‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम शुरु भएयता पानी नपरेपछि चर्को घामका साथै ‘लु’ चल्न थालेको हो । उक्त कार्यालयकाअनुसार नेपालगञ्जको न्यूनतम ४३ र अधिकतम ३७ तापक्रम डिग्री सेल्सियस आसपास रहेको छ ।
यस वर्षको सबैभन्दा बढी तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । आइतबार ३७ डिग्री सेल्सियस रहेको तापक्रम बिहीबारसम्म आइपुग्दा ४३ डिग्री सेल्सियस पुगेको उक्त कार्यालयका मौसम विज्ञान सहायक योजना बस्ताकोटीले जानकारी दिए । ‘तातो हावा र तापक्रम वृद्धिले बढी गर्मी महसुस भइरहेको छ,’ उनले भने ।
चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ । तापक्रम बढ्नाका साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ ।











