काठमाडौं, २३ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०७६ ७७ मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा छलफल सुरु भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रमको समग्रमै संशोधन चाहेको छ।
कांग्रेसका २४ सांसदले सबै बुँदामा फेरबदल जरुरी भएको भन्दै संशोधन दर्ता गराएका छन्। कांग्रेससँगै राजपा, नेपाल मजदुर किसान पार्टीलगायतका सांसदहरुले संशोधनका लागि निवेदन दर्ता गराएका थिए।
यता सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले भ्रष्टाचार बहुआयामिक हुँदै गएको र सरकार लाचार देखिएको बताएका छन् ।
संसदमा सम्बोधन गर्दै सापकोटाले भने, ‘कहाँ छैन भ्रष्टचार बालुवाटार ? खुल्ला मञ्च, पोखरा, जनकपुरलगायतका कति ठाउँको नाम भन्नुस् ? म हजार ठाउँको नाउँ भन्छु ? ।’











