काठमाडौँ, २१ वैशाख । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पक्षीबाट मानिसमा सर्ने बर्डफ्लु भाइरल ‘एचफाइभ एनवान’ को सङ्क्रमणबाट जोगिन सरसफाई तथा खानपानमा उच्चसुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका प्रमुख डा. विवेक लालले बर्डफ्लुका कारण एक युवकको मृत्यु भएको सार्वजनिक भएपछि देशभर चासो बढेको बताए ।
‘ती युवकको मृत्यु सम्बन्धी घटनाको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेकाले महामारीका रूपमा फैलिसकेको अवस्था छैन’ उनले भने, ‘सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।’
यो रोगबाट सङ्क्रमित व्यक्ति उपचार गर्दा पनि बाँच्ने सम्भावना न्यून रहेकाले पक्षीसँंगको सम्बन्धबाट टाढा रहन उहाँको सुझाव छ ।
चिकित्सकका अनुसार, एचफाइभ एनवान जीवाणु सुलीमा चार डिग्री सेन्टीग्रेड तापक्रममा कम्तीमा ३० दिन, २२ डिग्री सेन्टीग्रेड तापक्रममा चारदिनसम्म र ३० डिग्री सेन्टीग्रेड तापक्रम तीन दिनसम्म बाँच्न सक्दछ तर ७० डिग्री सेन्टीग्रेड तापक्रममा भने केही सेकेण्डमै मर्ने हुँदा मासुका परिकार तथा अण्डाहरू राम्ररी पकाएर खान सुझाव दिइएको छ । २०६५ सालमा पहिलोपटक झापामा बर्डफ्लू देखिएको थियो ।
बर्डफ्लुबाट जोगिने उपाय
–नियमित रूपमा राम्रोसँग साबुन पानीले हात धुने ।
–व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
–घरवरिपरिको वातावरण सफा राख्ने ।
– सङ्क्रमणबाट बिरामी परेका तथा मरेका पक्षी टाढा राख्ने ।
– आफ्नो स्वास्थ्य ठीक नभएको महसुस भए छिटो स्वास्थ्य संस्थामा सम्पर्क राख्ने
–कुखुराको काँचो मासु काट्दा वा पकाउँदा पनि हातमा पन्जा र मास्क प्रयोग गर्ने ।
– राम्रोसँंग पकाएको मासु र अण्डामात्र खाने ।











