दाङ, १३ चैत । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बालश्रम अन्त्यका लागि अभिभावकहरुको चेतनास्तर बृद्धि प्रमुख प्राथमिकता हुनुपर्ने बताएका छन् ।

DSC_9588युनिसेफको सहयोग तथा सिविसको आयोजनामा दाङको घोराहीमा सुरु भएको दुईदिने ‘तथ्याङ्क सङ्कलन, दस्तावेजीकरण तथा प्रतिवेदन लेखन तालिम’को उद्घाटन गर्दै नगर प्रमुख चौधरीले बालश्रम अन्त्य गरे मात्रै समृद्धि हासिल गर्न सकिने बताएका हुन् ।

मानव शंसाधन विकास नै राज्यको समृद्धिको आधार भएको बताउँदै प्रमुख चौधरीले बालबालिकाहरुमा लगानी गरे भोलिको देशको समृद्धि सुनिश्चित हुने धारणा राखे ।

जोखिममा रहेका बालबालिकाहरुलाई तत्काल उद्धार गरी सुरक्षित गर्ने गरी बालबालिकासँग क्रियाशील संघ संस्थाहरुसँग सँगै अगाडि बढ्न आफू आतुर भएको बताउँदै चौधरीले समुन्नत समाज निर्माणका लागि बालबालिकामा लगानी गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै युनिसेफ नेपालका बाल संरक्षण अधिकृत शिवशङ्कर डङ्गोलले बालश्रम अन्त्यका लागि युनिसेफले क्षमता अभिबृद्धिका कार्यक्रम, सूचना व्यवस्थापन प्रणालीको विकास गर्ने, व्यवहार परिवर्तनका लागि सूचना दिने खालका कार्यक्रम, सीपमूलक तालिम, सरकारलाई सहयोग गर्नेलगायतका विभिन्न खालका कार्यक्रममा सहयोग गर्दै आएको बताए । अहिलेसम्म ६ हजार बालबालिकाहरुलाई घटना व्यवस्थापन प्रक्रियामा लगी आवश्यक सेवा दिइएको, ४ हजार बाल मजदुरहरुलाई औपचारिक शिक्षामा जोडिएको, व्यवहार परिवर्तनका लागि घरदैलोमा पुगी सचेतना दिने काम भइरहेको उनले जानकारी दिए ।

बालश्रम विज्ञ उद्धवराज पौडेलले बाल संरक्षणका क्षेत्रमा भएका कामहरुलाई राम्रोसँग अभिलेखीकरण गरी प्रतिवेदन लेख्नलाई सहज बनाउनका लागि तालिम फलदायी हुने अपेक्षा व्यक्त गरे ।

समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस)का कार्यकारी निर्देशक डा. अशोक पाण्डेले बाल संरक्षणका क्षेत्रमा हालसम्म भएका उपलब्धिहरुलाई सुरक्षित गर्न यो तालिम आयोजना गरिएको बताए ।

युनिसेफ नेपालबाट बाल संरक्षण कार्यक्रम सञ्चालन भइरहेका १६ वटा नगरपालिकामा तथ्याङ्क सङ्कलन, दस्तावेजीकरण तथा रिपोर्टिङ कार्यलाई सहज बनाउनका लागि तालिम आयोजना गरिएको बताउँदै कार्यक्रमको अध्यक्ष समेत रहेको डा. पाण्डेले तालिमले बाल संरक्षणका क्षेत्रमा भएका उपलब्धिहरुलाई दस्तावेजीकरणमा सहयोग पुग्ने बताए ।