दाङ, १२ चैत । दाङ–सुर्खेत सडकखण्ड निर्माण कम्पनी र स्थानीयहरुबीच देखिएको विवाद समाधान भएको छ । स्थानीयवासीको माग र मापदण्डअनुसार नै काम गर्ने सहमति भएपछि विवाद समाधान भएको हो ।
बबई गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने हापुरे बजार क्षेत्रको एक किलोमिटरमा स्थानीयवासीको विरोधका कारण निर्माणको काम अवरुद्ध भएको थियो ।
बजार क्षेत्रमा सात मिटर सडक कालोपत्रे गर्नुपर्ने र दायाँ छ मिटर र बायाँ छ मिटर छोड्नु पर्ने माग गर्दै स्थानीयवासीले सङ्घर्ष समिति बनाएर विरोध गरेका थिए । अन्य क्षेत्रमा सात मिटर कालोपत्रे, दायाँबायाँ गरी १२ मिटर छाडेकामा हापुरेको शहीदगेटदेखि एक किलोमिटर क्षेक्रफलमा त्यसो नगरेको भन्दै स्थानीयवासीको असन्तुष्टि थियो ।











