इन्द्रेणी संवाददाता
प्राबिधिक तथा व्यावसायिक तालिम परिषद नेपाल सिटिइभिटीको आंगिक शिक्षालयको रुपमा यसै बर्ष देखि दाङमा स्थापित सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयको स्थायी संरचनाको लागि पक्की भवन बन्ने निश्चित भएको छ ।
दाङ घोराहीको गैरागाउँ स्थित प्राथमिक बिद्यालय कर्जाहीले आफ्नो बिद्यालयको झण्डै ७ बिगाह जमिन मध्य झण्डै २ बिगाह १० कठ्ठा जग्गा शिक्षालयलाई दिने औपचारिक निर्णय बने गरेपछी शिक्षालयको भवन बन्ने निश्चित भएको शिक्षालयका प्रमुख यादव सुबेदीले जानकारी दिए ।
बिद्यालयले शिक्षालय संचालनका लागि आफ्नो जग्गा दिने औपचारिक निर्णय गरेपछी दाङलाई प्राबिधिक , मेडिकल तथा इन्जिनियरिङ शिक्षाको हवको रुपमा बिकास गर्ने लक्ष्य लिएर केन्द्रमा विशेष पहल गर्ने शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले प्राप्त जग्गामा विभिन्न खालका भवन निर्माण तथा पार्क निर्माणका लागि गुरुयोजना तयार गर्न सिटिइभिटीको केन्द्रीय कार्यलयबाट इन्जिनियर उमेशकुमार मिश्र सहितको टोलिलाई फिल्डमा खटाएका हुन ।
फिल्डमा आइ अध्ययनमा जुटेको प्राबिधिक टोलिलाई नेकपाका केन्द्रीय सदस्य तथा दाङका लोकप्रिय नेता हेमराज शर्मा “डाइमण्ड ” ले आवश्यक सल्लाह सुझाव तथा निर्देशन दिएको शिक्षालयका कोडिनेटर केशरमान बुढाथोकीले बताए ।

यसैबर्ष देखि संचालनमा आएको शिक्षालयमा अस्थायी तथा स्थायी दुबै प्रकारका भवनहरु बन्ने शिक्षालय प्रमुख सुवेदीको भनाइ थियो । प्रमुख सुवेदीका अनुसार शिक्षालयमा सिटिइभिटीबाट प्राप्त १ करोड ५० लाख र क्षेत्र बिकास कोषबाट सम्माननीय सभामुख कृष्णबहादुर महराले छुट्ट्याएको १५ लाख संरचना निर्माण का लागि रहेको र उक्त रकम बाट बहुबर्षिय योजना निर्माण गरि क्रमिकरुपमा भवन निर्माण हुने छन ।
हाल शिक्षालय लाई आवश्यक ७ कोठे अस्थायी भवन तत्कालै बन्ने र स्थायी संरचना पनि तत्कालै गुरुयोजना निर्माण गरि निर्माण प्रकृया सुरु गर्ने शिक्षालय प्रमुख सुवेदीले बताए । शिक्षालयमा हाल वनबिज्ञान र फुट टेक्नोलोजी बिषयमा डिप्लोमा तह र विभिन्न १० वटा छोटो अबधिका कार्यक्रम संचालन भएका छन ।











