प्यूठान, १ चैत । प्यूठान नगरपालिका ३ सेपुङ्गका स्थानीयहरु सडक निर्माणमा जुटेका छन् । सरकारले १ करोडभन्दा कम बजेटका सडकमा डोजर लगाउन प्रतिबन्ध लगाएपछि सेपुङ्गका स्थानीय सडक निर्माणमा जुटेका हुन् ।
उनीहरुले गाउँमा सडकको पहुँच पुराउनका लागि जनश्रमदान गरी सडक निर्माणमा जुटेका हुन् । सडक गुणस्तरिय तथा समयमै निर्माण गर्नका लागि जनताहरु स्वतस्फूर्त रुपमा आफै सडक स्तरोन्नति गर्न जुटेका हुन् । सरकारले डोजर प्रयोगमा रोक लगाएपछि स्थानीय आफै सडक निर्माणमा लागेको प्यूठान नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष प्रेम बहादुर हमालले बताए ।
‘सरकारले साना आयोजनामा डोजर प्रयोगमा रोकेपछि स्थानीय रोजगार पनि पाएका छन्’ उनले भने, ‘यो निर्णयले जनताको आयआर्जनमा सहयोग पुग्छ ।’ अहिले सेपुङ्गका स्थानीय महिला पुरुष मिलेर ३ किलोमिटर लामो सडक स्तरोन्नति गरिरहेका छन् ।
प्यूठान नगरपालिका वडा नं। ३ ले सडक स्तरोन्नति गर्न २ लाख बजेट विनियोजन गरेको छ । खदचौर, डाडागाउँ, सेपुङ्ग हुँदै रोल्पा देउराली जोड्ने ३ किलोमिटर लामो सडक स्थानीयवासीको संक्रियतामा निर्माण भइरहेको छ अभियानमा खबर छ। एकसाता पहिलेदेखी निर्माण थालिएको सडक केहि दिनमै सम्पन्न हुने प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए ।
गाउँका २४ जना महिला र १२ जना पुरुषले सडक निर्माण गरिरहेका छन् । ‘अहिलेसम्म २ कि।मी सडक निर्माण सम्पन्न भएको छ’ उनले भने, ‘बाकी १ कि.मी. सडक एक हप्ताभित्र सम्पन्न हुन्छ ।’ सडक निर्माण गरेवाफत महिलालाई ५ सय र पुरुषलाई ६ सय पारिश्रमिक दिएको छ ।











