दाङ । दाङको घोराही उपमहानगरपालिकाभित्र करीव एक हजार ८ सय घर मात्रै भूकम्प प्रतिरोधी घर छन् । उपमहानगरपालिकाको जनसंख्या झण्डै ७० हजार पुग्नै लाग्दा यहाँ निर्माण भएका ४० प्रतिशत घर मात्रै भूकम्प प्रतिरोधी घर छन् ।
उपमहानगरपालिकाभित्र २०६९ सालदेखि मात्रै भवन आचारसंहिता लागु भएकाले सो भन्दा पछि निर्माण भएका घरहरु भूकम्प प्रतिरोधी घरको तथ्याङ्मा छन् ।
भवन आचारसंहिता लागु भएदेखि करीव पाँच वर्षको अवधिमा उपमहानगरपालिकाको शहरी क्षेत्रमा एक हजार सात सय ८६ भूकम्प प्रतिरोधी घर निर्माण भएको तथ्याङ्क उपमहानगरपालिकासँग भएको उपमहानगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठले जानकारी दिए । ‘यसभन्दा पहिलेका घर भूकम्प प्रतिरोधी नै छैनन् भन्ने होइन तर २०६९ सालदेखि पछि बनेका घरहरु हाम्रो तथ्याङ्कमा भूकम्प प्रतिरोधी अर्थात भवन आचारसंहिता भित्र रहेर निर्माण भएका छन्’, उनले भने ।
उपमहानगरपालिकाभित्र रहेका करीव २५ हजार घरहरुमध्ये ४० प्रतिशत पक्की छन् भने बाँकी ६० प्रतिशत कच्ची र परम्परागत ढंगबाट निर्माण गरिएका छन् । घरलाई सुरक्षित बनाउनका लागि उपमहानगरपालिकाले घर निर्माण गर्ने डकर्मीहरुलाई वेलावेलामा तालिम दिने र सूसुचित गर्ने काम पनि गरिरहेको इञ्जिनियर श्रेष्ठले बताए । उपमहानगरपालिकाले भूकम्प प्रतिरोधी घर निर्माणका लागि ३ सय ८६ जना डकर्मीलाई तालिम समेत दिएको छ ।











