रोल्पा, ५ फागुन । सबै विकासको आधार शिक्षा रहेको भन्दै रोल्पाको त्रिवेणी गाउँपालिकाले आफ्नो गाउँ शिक्षा योजना निर्माण थालेको छ । गाउँपालिकामा शिक्षाको आधारलाई विकास गर्दै गुणस्तरीय शिक्षा निर्माण गर्न सबै सरोकारवाला निकायहरुको सहभागितामा गाउँ शिक्षा योजना बनाउन लागिएको हो ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै प्राथमिकता दिएको तर योजनावद्ध रुपमा नभएकोले गाउँ शिक्षा योजना बनाएर नै गुणस्तरीय शिक्षाका लागि विकास गरिने त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए । गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका वलीले शिक्षामा लगानी बढाउदै शिक्षाको क्षेत्रमा नूमना गाउँपालिका बनाउन लाग्ने बताए ।
गाउँपालिकाले गाउँ शिक्षा योजना निर्माणका लागि फागुन ३ र ४ गते दुई दिने कार्याशाला गोष्ठी समेत सम्पन्न गरेको छ । गाउँ शिक्षा योजना निर्माणको सहजीकरण नेपाल सरकारका उपसचिव एवं शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले गरेका थिए ।
कार्याशालामा गाउँ शिक्षा समितिका पदाधिकारी तथा सदस्यहरु, सातै वडाका वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, गैरसरकारी संघ संस्था प्रतिनिधिहरु, बाल क्लव संजालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।ाए ।











