इन्द्रेणी संवाददाता
दाङ, असार। वन ब्यवस्थापन गर्ने जिम्मा स्थानीय समुदायलाई पहिलो पटक दिएको दिनको सम्झना गर्दै यसबर्षदेखि सरकारले साउन २५ गतेलाई सामुदायिक वन दिवसका रुपमा मनाउने निर्णय गरेको छ । २०३० साल साउन २५ गते सिन्धुपाल्चोक जिल्लाका ठोकर्पाको वनलाई
ब्यवस्थापन गर्न स्थानीय समुदायलाई हस्तान्तरण गरेको दिनको सम्झना गर्दै सामुदायिक वन दिवस मनाउने निर्णय गरेको हो ।
जिल्ला वन क्षेत्र समन्वय समिति दाङको सोमवार घोराहीमा बसेको बैठकमा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष शोभाकर सापकोटाले सरकारको निर्णय अनुसार साउन २५ गतेलाई सामुदायिक वन दिवसका रुपमा मनाउनुपर्ने प्रस्ताव राखेकाथिए । बैठकले साउन २५ मा जिल्लका राजनितिक दल सहित सवै सरोकारवालाहरुले सामुदायिक वन दिवस मनाउने निर्णय गरेको छ ।
वन महासंघले लामो समयदेखि सामुदायिक वन दिवस तोकि मनाउन पहल थालेकोमा सरकारले साउन २५ लाई सामुदायिक वन दिवस घोषणा गरी मनाउन आग्रह गरेको हो । जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकले वन तथा वातावरणका क्षेत्रमा यो बर्ष भएका कार्यक्रमको भोली मंगलवारदेखि तीन दिनसम्म अनुगमन गर्ने निर्णय पनि गरेको छ । अनुगमनपछि आउने प्रतिवेदन र कार्यक्रमको समीक्षा असार ३० गते घोराहीमा गर्ने निर्णय बैठकले गरेको छ ।
समितिका अध्यक्ष स्थानीय बिकास अधिकारी रमेश गौतमको सभापतित्व एंव प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यतामा बैठक भएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला वन अधिकृत नवराज काफ्लेले गरेकाथिए । जिल्लाका सवै राजनितिक दलका प्रतिनिधि, वन महासंघका अध्यक्ष, नेपाल पत्रकार महासंघका प्रतिनिधि, वन तथा वातावरणका क्षेत्रमा क्रियासिल संघ संस्थाका प्रतिनिधि सम्मिलित उक्त समिति वन तथा वातावरणका क्षेत्रमा जिल्लामा क्रियासील सशक्त समिति मानिन्छ ।