पर्वत, ३ माघ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा आज भएको बस दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएका छन् । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नं को बस दुर्घटनामा परेको हो ।
घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँैको ग्राण्डी अस्पताल लगिएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको छ ।
अन्य घाइतेहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइतेहरुको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या वढ्न सक्ने बताइएको छ ।











