काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

kp२१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनःनिर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले यस स्थानको भ्रमण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले ललितपुरमा रहेका स्मारकको पुनःनिर्माण सन्तोषजनक रुपमा अघि बढेको बताए । पुनःनिर्माण चाँडो सम्पन्न गर्नका लागि सबै दत्तचित्त भएर लाग्नुपर्नेमा उनको जोड छ ।

सरकारले धार्मिक र सांस्कृतिक क्षेत्रको पुनःनिर्माणलाई प्राथमिकता दिइरहेको बताउँदै काठमाडौँ उपत्यकाका अघि बढ्न नसकेका स्मारकको पुनःनिर्माण चाँडो शुरु गर्ने उनले प्रतिबद्धता जनाए ।

विश्वसम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा रहेका स्मारक र पुनःनिर्माणको अवस्थाका बारेमा नगरप्रमुख महर्जनले प्रधानमन्त्री ओलीलाई जानकारी दिए ।