उदयपुर, २२ पुस । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महिनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा छ ।
जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितको दुई चिकित्सक डा पवन साह र डा विशाल देव सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवासम्बन्धी उपचार ठप्प हुँदै आएको हो ।
जिल्ला अस्पताल उदयपुरका प्रमूख डा बिष्णुबहादुर बस्नेतका अनुसार सम्बन्धित निकाय तथा मन्त्रालयमा समेत जिल्ला अस्पतालमा स्त्री विशेषज्ञको अभाव हुँदा बिरामी मारमा परेको जानकारी गराइसके पनि अहिलेसम्म अर्को चिकित्सक व्यवस्थापन हुननसकेको छैन् ।
उदयपुर जिल्ला अस्पतालमा मात्र शल्यक्रियासहितको प्रसूति सेवा उपलब्ध हुँदै आएको तर अहिले प्रसूति सेवा नै बन्द हुन पुगेपछि जिल्लाका अधिकांश प्रसूतिसम्बन्धी बिरामी दशौँ हजार खर्च गरेर उपचारको लागि जिल्ला बाहिर विराटनगर, धरान जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् ।











