उदय बीसी
दाङ, ४ पुस । दाङमा एक युवाले जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा ट्रकी पालन गरेका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुरका लेखनाथ बुढाथोकीले जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा ट्रकी पालन गरेका हुन् ।
बुढाथोकीले करीव ४५ लाखको लगानीमा घोराही ७ मा कालिका ट्रकी फाराम सञ्चालनमा ल्याएका छन् । रोजगारीको खोजीमा दिनहुजसो युवाहरु विदेशी रहेको वेला स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नै व्यक्तिगत लगानीमा ट्रकी फाराम खोलेको बुढाथोकीले बताए ।
१६ कट्ठा जग्गा दश वर्षका लागि लिजमा लिएर फर्म सञ्चालन गरेका बुढाथोकीले पहिलो पटक ७ सय ट्रकी फर्ममा भित्र्याएका थिए । उनले अहिले करीव करीव सबै ट्रकी विक्री गरिसकेको छन् । ट्रकीका चल्ला काठमाडौंबाट ल्याउनुपर्ने र त्यहाँ पनि आवश्यकता अनुसार चल्ला नपाइने भएकाले उत्पादन भन्दा माग बढी भएको उनले बताए । ‘चल्लाको उत्पादन कम छ तर यसको माग बढी छ’, उनले इन्द्रेणी अनलाइनसँग भने ।
प्रतिचल्लाको मूल्य ५ सय रुपैयाँ पर्ने र यसलाई ६ महिनासम्म पाले पछि मात्रै यो मासु खाना योग्य हुने गर्दछ । यसको तयार गरिएको मासु प्रतिकेजी १ हजार रुपैयाँमा र जिउँदो साढे ७ सयदेखि ८ सय रुपैयाँ प्रतिकेजी विक्री गर्ने गरेको उनले बताए ।
व्यवसायिक रुपमा यति ठूलो ट्रकी फर्म पश्चिम नेपालकै पहिलो भएको दावी गर्ने बुढाथोकीले यो पालनमा केही चुनौती पनि भएको बताए । किसानहरु ट्रकी पालनमा उत्साहित भएकाले यसमा राज्यको तर्फबाट सहयोग हुन जरुरी रहेको उनको भनाइ छ ।











