दाङ, ३ पुस । तुलसीपुर उपमहानगरपालिकाले वातावरणीय प्रभाव र प्रदुषणलाई कम गर्नका लागि प्लाष्टिक र यसबाट वनेका वस्तुमा रोक लगाउने भएको छ ।
कार्यपालिकाको ४८ औ वैठकले २० माइक्रोन भन्दा कम तौल भएका प्लाष्टिकजन्य पदार्थमा रोक लगाउने निर्णय गरेको प्रवक्ता श्याम डाँगीले वताएका छन् । प्रवक्ता डाँगीले माघ १ गतेदेखि लागुहुने गरी उपमहानगरपालिकाले यस्तो निर्णय गरेको वताएका हुन् ।
उनले यसको प्रभावकारी अनुगमन गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कारवाही गरिने समेत जानकारी दिए । प्लाष्टिकजन्य पदार्थले स्वास्थ्य र वातावरणमा प्रतिकुल प्रभाव पार्ने भन्दै उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले ७ लाखसम्मको योजनाको वडाले अनुगमन गर्ने र सो भन्दा माथिको लागत लाग्ने योजनाहरुको उपमहानगरपालिकाको अनुगमन समितिले अनुगमन गर्ने निर्णय गरेको छ ।
यसैगरी वैठकले उपभोक्ता समितिले गर्ने योजनाको काममा ठूला उपकरण र साधनहरुको प्रयोग गर्दा उपमहानगरपालिका मार्फत भाडाको टेण्डर गरेर मात्रै गर्ने प्रावधान राखेको छ । “अव उपभोक्ता समितिले आफुखुसी उपकरण र साधन भाडामा लिएर प्रयोग गर्न पाउने छैनन” नगरप्रमुख पाण्डेले वताए । उनले योजनाको काम प्रभावकारी ढँगले सम्पन्न होस् भनेर यस्तो निर्णय गरिएको पनि वताए ।











