शंकर के सी
सल्यान, ३ पुस । सल्यानका स्थानीय तहमा कार्यरत दुई सय ५० बढी कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम ठप्प पारेका छन् । कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरूलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरु आवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियनको संयुक्त आयोजनामा मंगलबार सल्यानमा भएको कार्यक्रममा निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेश विरुद्ध आन्दोलनमा जान बाध्य हुनु परेको कर्मचारीहरुले बताएका छन् ।
कार्यक्रममा स्थानीय तह कर्मचारी संघ सल्यानका अध्यक्ष जीवराज केसीले सरकारले प्रदेश र स्थानीय तहको कर्मचारी समायोजनाको नाममा निजामति कर्मचारीहरुलाई मात्रै प्रोत्साहन गर्ने काम गरेको बताए ।
यस्तै स्थानीय तह कर्मचारी युनियनका जिल्ला अध्यक्ष चन्द्रप्रसाद शर्माले निजामती कर्मचारीहरुलाई दिइँदै आएको सेवा, सुविधाबाट आफूहरुलाई वञ्चित गराउने गरी सरकारले सो अध्यादेश ल्याएपछि त्यसको विरोधमा जिल्लाका सबै स्थानीय तहमा आन्देलन चर्काइएको बताए । पुस १० गतेसम्म पनि माग पूरा नभए सशक्त आन्दोलनमा उत्रने कर्मचारीहरुले चेतावनी दिएका छन् ।











