तुलसीपुर, २ पुस । तुलसीपुर उपमहानगरपालिकाले क्रसर उद्योगको नियमन गर्ने भएको छ । कतिपय उद्योगहरुले अनुमति लिएभन्दा फरक ढँगले काम गरेको भन्दै उद्योगको नियमन गर्नका लागि कार्यपालिकाको वैठकले निर्णय गरेको छ ।
कार्यपालिकाको ४७ औ वैठकले मापदण्ड विपरित सञ्चालनमा रहेका क्रसर उद्योगको नविकरण नगर्ने समेत निर्णय गरेको नगर प्रवक्ता श्याम डाँगीले वताए । उनले वालुका प्रशोधन गर्ने भनेर दर्ता भएको तर अरु पनि काम गरेको भेटिएको वताउँदै जुन अनुमति ल्याएको हो सोही अनुसार काम नगरेको पाइएमा कारवाही गरिने समेत वताए । कार्यपालिकाको वैठकले क्रसर उद्योगलाई १ लाख र वालुवा प्रशोधनलाई ७५ हजार वार्षिक कर निर्धारण समेत गरेको छ ।
वैठकले तुलसीपुर उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका सवारी साधनहरुलाई अन्चल या प्रदेश मातहतमा दर्ता गर्नुपर्ने निर्णय समेत गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले तुलसीपुर उपमहानगरपालिका भित्र मनोरञ्जन सम्वन्धि कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारको अनिवार्य अनुमति लिनुका साथै प्रदेश सरकारले तोके वमोजिम मनोरञ्जन कर तिर्नुपर्ने समेत निर्णय गरेको छ ।











