इन्द्रेणी संवाददाता
दाङ, २८ मंसिर । दाङको एक घरमा आगलागी हुँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । वंगलाचुली गाउँपालिका वडा नं. ८ वस्ने नवराज पुनको दुई तले घरमा आगलागी हुँदा उनका बर्ष ७ का छोरा कृष्णबहादुर पुन, छोरी बर्ष ५ की अस्मिता पुन र छोरी बर्ष २ महिना ६ की अन्जु पुन मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आगलागीबाट घरमा रहेका ७ वटा बाख्रा ४ वटा गाई समेत जलेर मरेका छन् । घरमा राखिएको सोलारको व्याट्री पड्किएर आगलागी भएको बताइएको छ । विहीबार साँझ करीव ८ बजेको समयमा घरमा आगो लागेको हो ।
भुसले छाएको घरमा पुनकी श्रीमती जीवनी पुनको साथमा रहेको ४ महिने छोरा विरामी भएकाले झारफुक गर्नका लागि अनेत्रै लिएको समयमा यो घटना भएको बताइएको छ । आगो राति १२ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।











