काठमाडौंँ, २३ मंसिर । सरकारले ७७ वटै जिल्लामा जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालय स्थापना गर्ने तयारी गरेको छ । यसअघि ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने निर्णय गरिएको थियो ।
३५ वटा स्वास्थ्य कार्यालय रहने प्रस्ताव खारेज गर्दै ७७ वटै जिल्लामा कार्यालय स्थापना गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेलले जानकारी दिए ।
मन्त्रालयको सो प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को प्रशासन समितिमा छलफल गरी पेश गर्ने निर्णय गरेको थियो ।
यसअघि प्रदेश मातहतमा रहने गरी स्वास्थ्यसम्वन्धी गोष्ठी तालिम सञ्चालन गर्न सातवटै प्रदेशमा तालिम केन्द्र र सात वटै प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्न समेत माग गरिएको थियो । सोमबारको बैठकले ती विषयलाई समेत प्रशासन छलफल गरी पुनः पेश गर्न निर्णय गरेको छ ।
