इन्द्रेणी संवाददाता
दाङ, १५ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न योजना बनाएको जनाएको छ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिदै गर्दा यो समयमा मदिरा सेवन गरेर होहल्ला गर्नेलाई नछोडने एसपी कृष्णहरि शर्माले बताए ।
जिल्लाका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एसपी शर्माले चाडपर्वको समयमा मदिरा सेवन गरेर होहल्ला गर्नेलाई नियन्त्रणमा लिएर मुद्दा समेत चलाइने बताए । ‘चाड पर्वमा हुने घटना न्यूनिकरणका लागि हामी तयार छौं’, उनले भने, ‘यो समयमा जाँड खाएर होहल्ला मच्चाउनेलाई हामी कुनै हालतमा छोडदैनौं ।’
उनले तिहारमा खेलिने देउसी भैलोलाई मर्यादित बनाउन पनि स्थानीय निकायहरुसँग समन्वय भएको बताए । देउसी भैला खेल्ने समूहले नजिकको प्रहरी कार्यालय अथवा गाउँपालिका, वडा कार्यालयमा निवेदन दिनुपर्ने समेत एसपी शर्माले बताए । यसो गरिएपछि दर्ता भएको समूहको प्रमुखले सुरक्षाको समेत जिम्मेवारी लिने उनको भनाइ छ ।
