इन्द्रेणी संवाददाता
दाङ, १५ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले नेपाल टेलिकमको १७ लाख मूल्यको रिचार्ज कार्ड चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

policeअसोज २३ गते ना ६ ख ९३४५ नम्बरको गाडीमा दाङबाट चितवन लैजादै गरेको रिचार्ज कार्ड भालुवङबाट चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नं. १ का वर्ष २१ का दलबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई रिचार्ज कार्ड चोरी गरेको २१ दिनपछि रोल्पाको विभिन्न स्थानमा रिचार्ज कार्ड विक्री गरिरहेको वेला कार्तिक १३ गते रोल्पाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी कृष्णहरि शर्माले जानकारी दिए । उनले आज विहीबार आरोपी पुनलाई सार्वजनिक गर्दै प्युठान स्वर्गद्धारी गाउँपालिका ७ स्थित ससुरालीमा रिचार्ज कार्ड लुकाइ राखेको अवस्थामा १६ लाख १० हजार रिचार्ज कार्डसिहत पक्राउ गरिएको बताए ।

प्रहरीले ५० दरका रिजार्ज कार्ड २ लाखको ४ हजार थान, १०० दरका २ लाखको २ हजार थान रोल्पाबाट विक्रीको क्रममा रहेको वरामद गरेको छ । त्यस्तै पुनको ससुरालीमा लुकाएर राखिएको ५० दरका रिजार्ज कार्ड ३ हजार ६ सय १ लाख ८० हजार, १०० दरका रिचार्ज कार्ड ८ हजार ५ सय थान बराबरको ८ लाख ५० हजार, ५०० दरको ३ सय ६० थान बराबर१ लाख ८० हजारको रिचार्ज कार्ड वरामद गरेको एसपी शर्माले बताए ।
१७ लाख रिचार्ज हराएको सूचना आएकाले १६ लाख १० हजारको रिचार्ज कार्ड वरामद भइसकेको र बाँकी ९० हजार विक्री भएको अथवा के भएको भन्ने बारे अनुसन्धानमै रहेको प्रहरीले बताएको छ । सो रिचार्ज कार्ड घोराहीस्थित शुभलक्ष्मी नमस्ते डिष्ट्रीब्यूटर्सको रहेको प्रहरीले जनाएको छ ।